News Griha :: न्यूजगृह
जुवातास खेलिरहेको अवस्थामा ९० जना पक्राउ

काठमाडौं— जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले ९० जनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र सङ्खुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका हुन् । 

काठमाडौंको शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई ४० हजार ८ सय ५५ रुपैयाँसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय इन्द्र पाठकसमेत २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ५८ हजार ६ सय ९४ रुपैयाँसहित पक्राउ गरेको हो । 

यसैगरी सोही नगरपालिका-१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश खत्री लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले २५ हजार ४ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो । यसैगरी बेलौरी नगरपालिका- ६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रामबहादुर राना समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई २२ हजार ४० रुपैयाँसहित पक्राउ गरेको हो ।

सिन्धुली, सुनकोशी गाउँपालिका-६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले उनीहरूलाई २२ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओम प्रकाश जोशीसमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई २१ हजार ३ सय ७९ रुपैयाँसहित पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका-५ गल्फै बस्ने ३२ वर्षीय केशव दत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई ४३ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

संखुवासभा, चैनपुर नगरपालिका-३ तिनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेम बहादुर कटुवाल लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ३८ हजार ३ सय २५ रुपैयाँसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १८:३८
Weather Update