
काठमाडौं— काठमाडौं, सुर्खेत, अछाम र उदयपुरका विभिन्न स्थनामा जुवातास खेलिरहेका ६५ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीका अनुसार नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेका ४० वर्षीय श्यामबाबु तामाङसमेत २२ जनालाई आइतबार राति पक्राउ गरिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
सुर्खेतको चौकुने गाउँपालिका-६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्रकुमार बीसीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसमेत २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुटु र बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २८ हजार ७ सय ९२ रूपैयाँ, ३८ गड्डी ताससहित पक्राउ गरेको हो ।
अछामको मंगलसेन नगरपालिका-९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावलसमेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय वयान राईसमेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी चौदण्डीगढी नगरपालिका-५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय अजित कार्कीसमेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ५५ हजार ६० रूपैयाँ र १६ पिस कौडासहित पक्राउ गरेको हो ।