News Griha :: न्यूजगृह
गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

गोरखा— गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् ।

गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधबार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो । 

लोक्पा गाउँ नजिकै गत वर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थाले पछि जमिन समेत चिरा परेर घरहरू जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।

पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिँड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए । 

उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिँडाउन समेत कठिनाइ भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०/११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ ।’ 

बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दीर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:१३
Weather Update