News Griha :: न्यूजगृह
कञ्चनपुरको बेलौरीमा भारतीय सुरक्षाकर्मीको अवरोध, विद्युत् लाइन विस्तार गर्न दिएन
भारतीय सीमा सुरक्षा बल (एसएबी) । फाइल तस्बिर ।

कञ्चनपुर— विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी) ले आइतबार अवरोध गरेको हो ।

हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई सुरक्षाकर्मीले माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन् ।

हुलाकी सडकको किनारै किनार विद्युतको पोल गाड्ने कार्य भइरहेका बेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए ।

विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ । चालु आवभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने कार्य अलपत्र परेको छ ।

स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटकपटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विद्युत् लाइन विस्तारमा रोकेको कारण बुझ्ने प्रयासमा रहेको बताए ।

यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने कार्यमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:५९
Weather Update