काठमाडौं— डलर अर्बपति विनोद चौधरीको लगानी रहेको ‘समिट लक्जरी अपार्टमेन्ट’का कारण ललितपुरको बखुण्डोलमा तीन घर पूर्ण रूपमा भासिएका छन् । पुरानो समिट होटल भएकै स्थानमा अवैधानिक रूपमा निर्माण सुरु भएको यो अपार्टमेन्टले बेसमेन्टका लागि गहिरो खाडल खन्दा आसपासका घर लच्किएर भासिएका हुन् ।
हालसम्म समिट अपार्टमेन्टले खनेकै खाल्डोका कारण तीन घर पूर्ण रूपमा भत्किएका छन् भने आसपासका ५ वटा घर चर्किएका छन् । जमिन लच्किँदा १५ भन्दा बढी घरहरू जोखिममा परेका छन् ।
ललितपुर १ बखुण्डोलमा पर्ने सो स्थानमा निर्माण सम्पन्न भइसकेको एक पाँच तले घरको जगसहित एक तला पूरै जमिनमुनि भासिएको छ । स्थानीय ऋग्ध्वज विष्टले सो घर निर्माण गरिरहेका थिए । त्यस्तै उनकै आफन्त रञ्जनध्वज विष्टको करिब एक रोपनी क्षेत्रफलमा बनेको साढे दुईतलाको घर भासिएर जमिनमुनि दबेको छ ।
‘मेरो ४० वर्ष पुरानो पुर्ख्यौली घर पूर्ण रूपमा ध्वस्त भएको छ । ८० वर्षे आमासहित म त्यो घरमा बस्दै आएको थिएँ । समिट अपार्टमेन्टको निर्माण कार्यका कारण जोखिममा पर्ने देखेपछि केही समय अगाडिदेखि म लाजिम्पाटमा भाडामा सरेको थिएँ,’ पीडित रञ्जनध्वज विष्टले भने,‘म विस्थापित भएँ । मैले बारम्बार यो विषयमा कुराकानी गर्दै आएको थिएँ । तर निर्माण कम्पनीले पनि वास्ता गरेन । वडाले पनि वास्ता गरेन । म साँच्चिकै विक्षिप्त भएको छु । दिमागले केही काम गरेको छैन ।’
त्यस्तै, अर्का पीडित ऋग्ध्वज विष्टले पनि आफ्नो निर्माण पूरा हुनै लागेको ५ तलाको घर र बस्दै आएको पुर्ख्यौली घरको बिजोग भएको बताए । ‘जसले जे गरेनी हुने जस्तो गरे । हामीले यो विषयमा समिट अपार्टमेन्टको व्यवस्थापनसँग कुराकानी पनि गरेको हो । तर, उनीहरूले जहिल्यै बेवास्ता गरे,’ उनले भने, ‘अब यो समस्या कहिले ठिक हुन्छ थाहा छैन । भौतिक क्षति त भैहाल्यो, हाम्रो परिवारले मानसिक रूपमा पनि ठुलो चोट पायौँ ।’ विष्टले पीडकको तर्फबाट आफूहरूले भौतिक क्षतिको क्षतिपूर्ति पाएपनि मानसिक आघातको परिपूर्ति भने केही चिजबाट नहुने दुखेसो पोखे ।
उता अपार्टमेन्टकै कारण होटलको संरचना भत्किँदा व्यवसायिक रूपमा आफू निकै ठुलो मारमा परेको ‘ग्रीन विच भिलेज होटल’का संचालक प्रवीण आचार्यले बताए । ‘संरचना नै चर्किएपछि मैले अहिले होटल बन्द गरेको छु । यो समस्या कहिले समाधान हुने हो त्यसको निश्चित छैन । होटल बन्द भएपछि मेरा सम्पूर्ण कर्मचारीहरूलाई मैले के गर्ने ? भन्ने टुंगो छैन,’ आचार्यले भने, ‘आर्थिक रूपमा मन्दी भैरहेको अहिलेको अवस्थामा सिजनको बेला यस्तो आपत आइलाग्दा हामी धेरै पीडामा छौँ ।’ उनले निर्माण कम्पनीको लापरबाहीका कारण आफूहरू समस्यामा परेको बताए । ‘अपार्टमेन्टको निर्माणपक्षको यसको सबैभन्दा ठूलो लापरबाही छ । त्यो बाहेक नियामक निकायको पनि दोष देखिन्छ,’ उनले भने ।
निर्माण कम्पनीको लापरबाहीले अप्राकृतिक रूपमा जमिन भासिँदा घरधनीहरूको आयस्रोतमा समेत असर गरेको छ । पीडित घरधनी रचना शाहीले घर चर्केपछि भाडावालाहरूलाई अन्तै सर्न भनिसकेको सुनाइन् । ‘यसै निर्माण कम्पनीले काम गरिरहँदा विगत साढे २ वर्षयता रातिमा घर थर्कने र हल्लाखल्ला हुने भएका कारण भाडामा बस्न आउने मान्छे पाउन छाडेको थियो,’ शाहीले भनिन्, ‘बडो दुःखका साथ बनाएको घर भाडामै लगाएर बैंकको किस्ता र आफ्नो घरखर्च चलाउँदै आएकी थिएँ । अब के हुने हो ? ठूलो पीर परेको छ ।’
समिट अपार्टमेन्टले ‘बेसमेन्ट’ प्रयोजनका लागि ४० फिट गहिरो खाडल खनेर त्यसको वरिपरि वाल (पर्खाल) लगाएको थियो । फिल्डमा हेर्दा त्यही वालले आसपासको दबाब थेग्न नसकेर लच्केको देखिन्छ । अपार्टमेन्ट निर्माणकर्ताहरूले आफ्नो तोकिएको क्षेत्रफल भन्दा पनि बढी अन्य छिमेकी घरको बेसमेन्टलाई समेत असर गर्नेगरि माटो निकालेको देखिन्छ ।
साढे दुई वर्ष यता महानगरपालिकाबाट नक्सा पाससमेत नगरी निर्माण सुरु भएको यो अपार्टमेन्टका कारण स्थानीयवासीहरू आजित भएका थिए । पछिल्लो एक हप्ता यता सो क्षेत्रको जमिन लच्किन थालेपछि स्थानीयवासीले तत्काल समस्या समाधानका लागि आग्रह गर्दा पनि निर्माण पक्षले चासो देखाएको थिएन । त्यसो त धेरै समस्या देखिन थालेपछि स्थानीयवासीले तीन पटकसम्म ‘अपार्टमेन्टको निर्माण कार्य रोकिपाऊँ’ भनि ललितपुर महानगरपालिकामा उजुरी दिए तर महानगरले कुनै चासो देखाएन ।
आफ्नै आँगन अगाडि नै अवैधानिक रूपमा अरबौँ लगानी गरेर अवैधानिक संरचना बनाउँदा पनि चुप लागेर बस्ने महानगरपालिका पनि दोषी भएको स्थानीयले बताएका छन् । नियामक निकायले नै कानमा तेल हालेर बस्दा यति ठूलो क्षति ब्यहोर्नु परेको उनीहरूले आरोप लगाए । पीडितहरूले यो घटनालाई ‘क्रिमिनल अफेन्स’को रूपमा लिएर निर्माणकर्ताविरुद्ध मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।
'क्षतिपूर्ति दिन्छौँ, सुरक्षाको प्रत्याभूति गर्छौँ '
चौधरी ग्रुपसँगै व्यवसायी सुवर्णमान श्रेष्ठ र रविभक्त श्रेष्ठको पनि अपार्टमेन्टमा लगानी छ । पुरानो होटल समिट रहेकै स्थानमा अत्याधुनिक सुविधा सहितको संरचनाको निर्माण सुरु भएपनि लगानीकर्ताहरूले उक्त अपार्टमेन्टको नक्सा पाससमेत गरेका छैनन् ।
कानुनतः नक्सा पास नगरी कुनै संरचना निर्माण गर्नु अवैधानिक हो । त्यसबाहेक अपार्टमेन्ट जस्तो ठूलो संरचना निर्माण गर्दा नक्सासँगै अन्य थुप्रै प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । तर, निर्माण कम्पनीले प्राविधिक रूपमा गर्नुपर्ने ‘सोइल टेस्ट’ (माटो परीक्षण) समेत गरेको छैन ।
लामो समय देखि स्थानीयको कुरालाई बेवास्ता गर्दै काम अगाडि बढाएपनि ठूलो क्षति भइसकेको अवस्थामा स्थानीयले भनेअनुसार नै अगाडि बढ्न लगानीकर्ताहरू सहमत भएका छन् । ‘चौधरी ग्रुपले यो प्रोपर्टीका लागि सोलो (एकल) लगानी गरेको होइन । हामीले पार्टनरसीपमा यो अपार्टमेन्ट निर्माण कार्य अगाडि बढाएका हौँ,’ चौधरी ग्रुपका संचालक निर्वाण चौधरीले भने, ‘यो प्राजेक्टको लिड पनि समिट होटलका संचालक सञ्चित श्रेष्ठ जीले गरिराख्नुभएको छ ।’ अवैधानिक रूपमा निर्माण कार्य सुरु गरेको भन्ने कुराबारे आफूले टिममा कुरा राख्ने चौधरीले बताए । ‘हाम्रो सोलो लगानी भएका प्रोपर्टीको सवालमा हामी पूरापूर वैधानिक तवरले अगाडि बढेको हाम्रो इतिहास छ’, उनले दाबी गरे ।
समिट अपार्टमेन्टका कारण भएको क्षतिको सम्बन्धमा भने आफू क्षतिपूर्तिका लागि प्रतिबद्ध रहेको चौधरीले बताए । ‘कसैको घर भत्किनु पक्कै पनि सामान्य कुरा होइन । यो भौतिक क्षति मात्रै भन्दा पनि इन्टिमेसी जोडिएको सवाल हो,’ उनले भने, ‘लगानीकर्ताको हिसाबले हामीले उहाँहरूको इन्टिमेसीको भरपाई दिन नसकौँला तर भौतिक क्षतिको भरपाई हुन्छ ।’
यो प्रोजेक्टलाई ‘लिड’ गरिरहेका समिट होटलका संचालक सञ्चित श्रेष्ठले आफूहरूले पीडित परिवारको व्यवस्थान र क्षतिपूर्ति सम्बन्धमा काम अगाडि बढाइकेको बताए । ‘घटनापश्चात् हामीले पीडितहरूसँग तत्काल क्षतिपूर्ति दिने र त्यस क्षेत्रमा थप क्षति हुन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाइसकेका छौँ,’ श्रेष्ठले भने, ‘र्यापिड रिलिफ फन्ड स्थापना गरेर त्यो कामको सुरुवात गरिहाल्छौँ ।’
चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपले निर्माण सुरु गरेको यो अपार्टमेन्टमा अत्याधुनिक पाँचतारे होटलसहित लक्जरी अपार्टमेन्ट रहने ‘प्रोजेक्ट डिजाइन’मा उल्लेख छ । कूल ६ अर्ब लगानी हुने भनिएको यो अपार्टमेन्टको डिजाइन सिंगापुरको ‘आर्किटेक्चरल कम्पनी मेनहार्डट इन्फ्रास्ट्रक्चर पीटीई लिमिटेड’ले गरेको थियो ।
ललितपुर महानगरपालिका के भन्छ ?
ललितपुर महानगरपालिकाले समिट अपार्टमेन्ट निर्माणलाई पूर्ण रूपमा अवैधानिक करार गरिसकेको छ । यद्यपि, तत्कालै आफूहरू ‘एक्सन’मा नजाँदा अहिलेको क्षति हुन पुगेको भन्दै उसले दुख व्यक्त गरेको छ ।
‘महानगरको तर्फबाट यस्तो अवैधानिक कामलाई तत्काल रोक्न नसक्नुमा हामी पनि दोषी छौँ र म त्यसका लागि माफी चाहन्छु,’ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘जे नहुनु थियो भैहाल्यो । अब पीडितहरूका लागि तत्कालै क्षतिपूर्ति र व्यवस्थापनका लागि हामीले पहिलो काम गरिहाल्नुपर्नेछ ।’
आइतबार नै महानगरले समिट अपार्टमेन्ट निर्माणकर्ता र पीडितहरूलाई एकै ठाउँमा राखेर तत्काल क्षतिपूर्तिका लागि ‘र्यापिड रिलिफ फन्ड’ खडा गर्ने निर्णय गराएको छ । फन्डमा निर्माणपक्षको तर्फबाट तत्काल पीडितहरूलाई सम्बोधन गर्नेगरी आवश्यक रकम उपलब्ध गराउन उसले निर्देशन दिएको छ । साथै, बिना अनुमति अपार्टमेन्टको निर्माण गरेको सन्दर्भमा प्रक्रियागत हिसाबले सो निर्माणकर्ता कम्पनीहरूलाई कारबाही अगाडि बढाउने महर्जनले बताए ।
‘कटन ब्ल्याक सोइल’ भएको स्थानमा आवश्यकताभन्दा बढी खाडल खनेको कारण आसपासका पक्की संरचनाहरू पूर्ण रूपमा भासिएको ललितपुर महानगरपालिकाको प्रारम्भिक अनुमान छ ।