News Griha :: न्यूजगृह
भोलिदेखि एमडीएमएस लागू हुने 

काठमाडौं— लामो समयको प्रतीक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।

'भोलिदेखि एमडीएमएस पूर्ण रूपमा लागू हुनेछ । प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन्,' प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने ।

उनका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।  प्राधिकरणले कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल सेटहरू दर्ता गर्न भनेको थियो । सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल सेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो ।  

सोही अनुसार प्राधिकरणले भोलिदेखि एमडीएमएस लागू गर्न लागेको हो । प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा 'हाइ रेन्ज'का मोबाइल सेटमा यो लागू हुनेछन् । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् । प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो । वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्ता फोन स्वतः एमडीएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।

तपाईंको फोन एमडीएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडीएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/public मा गएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#06# डायल गरेर पत्ता लगाउन सकिन्छ ।

अथवा तपाईंको सेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np/  मा गएर दर्ता गर्न सकिन्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:०४
Weather Update