News Griha :: न्यूजगृह
मुगु सामूहिक हत्या प्रकरण : प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, अनुसन्धानको जिम्मा सीआईबीलाई

मुगु— मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नास हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।

सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य, प्रमाण सार्वजनिक गर्न सकेको छैन । 

यसैबीच हत्याको थप अनुसन्धान गर्न शनिबारदेखि सीआईबीले मुगु हत्या प्रकरणको बाँकी अनुसन्धान गर्न थालेको छ । 
कार्तिक ८ गते (यद्यपि ८ गते वा ९ गते राती हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिका सहित परिवार कै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो ।  २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको हो  । 

त्यसयता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्व सहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले  संयुक्त रुपमा अनुसन्धान गरेपनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन ।  

सुरुबाटै घटनास्थल केन्द्रित गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखेपनि ठोस प्रमाण फेला नपरेकोले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ ।  फिल्डमा गर्नुपर्ने अनुसन्धानको म्यानुअल्ली सबै काम प्रहरीले गरिरहेको छ । सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’ थापाले भने ।

सीआईबीले प्रहरी नायब उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटाएको छ । 
घटनाको थप अनुसन्धानको जिम्मा सीआईबीले लिएपनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सीआईबीले संयुक्त रुपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

यस्तै मृतकका पति दीपक बोहोराले हत्यारा पत्ता नलगाई परिवारको दाहसंस्कार नगर्ने अडान छोडेर परिवारको दाहसंस्कार गरिसकेका छन् । 

उनले पत्नी, दुई छोरा र छोरीको कार्तिक १७ गते अन्तिम संस्कार गरेका हुन् ।  

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:१६
Weather Update