
काठमाडौं— सर्लाहीको लालबन्दीमा तीव्र गतिको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकका ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका— १७ स्थित कालिञ्जोर पुल नजिक गएराति भएको उक्त दुर्घटनामा हरिवन नगरपालिका–११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा २८ वर्षीय मुकेशकुमार गुप्ता र ३५ वर्षीय सुनिलकुमार गुप्ता छन्। प्रहरीका अनुसार मुकेश मोटरसाइकल चालक हुन् भने सुनिल पछाडि सवार थिए ।
राति करिब १० बजे ट्रक बिग्रिएपछि गाडी सडकमै छाडेर चालक र सहचालक मर्मतको लागि मिस्त्री खोज्न लालबन्दी बजारतर्फ गएको बेला घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मुकेशलाई उपचारको लागि महोत्तरीको बर्दिबास लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव हाल बर्दिबासमै छ। सुनिलको शव भने परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।