
काठमाडौं— बाराको कलैया उपमहानगरपालिका-६ मदरसा टोलस्थित बाल एकता स्कुलका सञ्चालक तथा प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो ।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३५ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए ।प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे । चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि गोली प्रहार भएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको हत्याको कारण विवाहेत्तर सम्बन्ध भनिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन् । उनी मदरसा टोलमै बसोबास गर्छिन् । पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन् ।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल स्वर्णकार विवाहित हुन् । उनका दुई छोरा छन् । केही समयअघि स्वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो । मनोज पनि राधाको प्रेमी हुन् । राधा र प्रिन्सिपल स्वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन् ।
मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए । तर नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो । यसबारेमा प्रहरीले आज विस्तृत रूपमा जानकारी दिनेछ ।