
काठमाडौं— सर्वोच्च अदालतले योगराज ढकाल अर्फ रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि बुधबार पुनः हुने भएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।
संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद मिनाहा भएको थियो ।
राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।
गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।
साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेसी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।