News Griha :: न्यूजगृह
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना, २ को मृत्यु, १ जना घाइते

काभ्रे— जिल्लाको पनौती नगरपालिका–२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । 

मंगलबार दिउँसो २ बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीलाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनमा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको डीएसपी श्रेष्ठले बताए । तिमल्सिनाको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:५८
Weather Update