News Griha :: न्यूजगृह

बारा— बाराको सुवर्ण गाउँपालिकामा विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएको भन्दै स्थानीय दलित अगुवाहरूले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन् । 

सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको यज्ञमा स्थानीय दलित समुदायका भक्तजनलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो ।

गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरूको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक यज्ञ हुन लागेको छ । 

यज्ञको सबै तयारी भएपछि स्थानीय करिब ९० घरपरिवारका दलित समुदायका श्रद्धालुहरूलाई सहभागी हुन वञ्चित गरिएको आरोप उजुरीमा लगाइएको छ । ‘यज्ञस्थलको निर्माण कार्यमा दलितहरूलाई श्रमदान गर्न लगाइयो, स्थानीय सुरेन्द्र रामले भने, ‘यज्ञस्थल निर्माण भइसकेपछि अब आइन्दा यज्ञस्थलमा प्रवेश नगर्नु भनेर उर्दी जारी गरिएको छ ।’ 

उनका अनुसार आयोजकले आफ्ना बालबालिकालाई पनि यज्ञमा नपठाउन र उर्दी विपरीत पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको छ । यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलन जस्ता कार्यमा दलित समुदायका मानिसहरूलाई प्रयोग गरिएको थियो । 

तर, यज्ञ सुरु गरेर पूजा गर्ने समयमा भने गाउँका केहीले रोक लगाउने प्रयास गरेको सुरेन्द्रले बताए । आफूहरूलाई यज्ञमा पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट वञ्चित गराएको भन्दै दलितहरूले आयोजकमध्येका रामदेवप्रसाद यादव, ईनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिप्रकामा लिखित उजुरी गरेका हुन् । 

प्रचलित कानुनले जातपातको नाममा कसैमाथि पनि छावाछुत गर्न नपाइने र यस्तो कसुर गर्नेमाथि २० हजारदेखि २ लाखसम्म दण्ड र ६ महिनादेखि तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १२:१४
Weather Update