News Griha :: न्यूजगृह

पोखरा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रत्न मन्दिर (दरबार) खुला गर्ने तयारी भइरहेको बताएका छन् । 

रत्न मन्दिरको शनिबार साँझ अवलोकनपछि उनले नयाँ वर्षसँगै सर्वसाधारणले रत्न दरबार अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढिरहेको बताए । उनले भने, ‘हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौँ । ठूला योजना विस्तार गर्दै लैजाऔँला, हालका लागि यहाँ भएकाहरूलाई अलि सुन्दर बनाएर दरबार खाेल्नुपर्दछ भनेर भनेका छौँ ।’ किरातीले रत्न मन्दिरमा व्यावसायिक भवन बनाउने तथा व्यापारिक समूहलाई भाडामा दिने कुरा हुन नसक्ने बताए ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । २०१३ सालमा यो दरबारको निर्माण सुरु गरिएको थियो । पछि दरबार राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्व छ । पर्यटकीय सहर पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर (दरबार) देशमा गणतन्त्र आएको ढेड दशक बित्दासमेत अझै सर्वसाधारणका लागि खुला भएका छैन ।

तत्कालीन राजपरिवारका देशका अन्य भागमा रहेका दरबार खुला हुँदासमेत पोखराका यी दुई दरबार खुला नभएपछि यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारको नाममा रहेका सम्पूर्ण सम्पत्ति ट्रस्ट मातहतमा ल्याउने सरकारी निर्णयअनुसार रत्न मन्दिर र हिमा गृह ट्रष्टको स्वामित्वमा छ । पोखरामा रहेका यी दुई दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउँदै आएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:४३
Weather Update