News Griha :: न्यूजगृह
मुगुमा एकै परिवारका ४ जनाको हत्या

सुर्खेत— मुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन् ।

घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा छन् ।

अनुसन्धानका लागि डीएसपी थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । थप अनुसन्धान गर्न प्रदेश प्रहरीको टोली पठाएको पनि ढकालको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:२०
Weather Update