News Griha :: न्यूजगृह
दाङमा १६ दिनको नवजात शिशुको हत्या प्रयास, आमा पक्राउ

काठमाडौं— दाङको लमहीमा १६ छोरी दिने नवजात शिशु (छोरी)को हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधबार दिउँसो छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ ।’

शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो । 

‘चिकित्सकहरूले सुत्केरीपछि कतिपय आमाहरू डिप्रेसनमा पुग्न सक्ने कुरा अवगत गराएका छन्,’ एसपी केसीले भने ‘प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको छ ।’

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले पनि प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:१०
Weather Update