
काठमाडौं— सर्लाहीको मलङ्गवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
झडपमा दुई प्रहरी घाइते भएका सर्लाही प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
मलङ्गवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मूर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो । विगतमा मूर्ति विसर्जनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो ।
तर स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले तोकेकै रुटबाट लगेर विसर्जन गरिएको छ ।
डीएसपी पञ्जियारका अनुसार अहिले अवस्था समान्य छ । प्रहरीका अनुसार जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको थियो । अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विसर्जन भएको प्रहरीले जनाएको छ ।