News Griha :: न्यूजगृह
मुस्लिम समुदायका अगुवाले यसरी मनाए दसैँ

बाँके— नेपालगञ्जमा दसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका छन्।

मंगलबार विजय दशमीका अवसरमा मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सदभाव लाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका हुन्। बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाएका छन्।

उनले दसैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए। 'हामी सदभावको सहरमा छौं। यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो। यहाँ मुस्लिमले हिन्दुहरूको मात्र नभइ हिन्दु समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,' उनले भने, 'मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ। टीका थाप्दा मैले मान्ने हिन्दु समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने?' 

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दु र मुस्लिम समुदायले वर्षौँदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्द समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए। सिद्धिकी वर्षौँदेखि हिन्दु समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन्।

पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ। हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए। अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैँमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन्। रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सदभाव रहेको भन्दै उक्त सदभाव बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।

बडादसैँको दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैँको शुभकामना दिएका छन्। एकता र सदभावका लागि दुवै समुदायका धर्मगुरुले संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:३०
Weather Update