मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
मकवानपुर— भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।
इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा मंगलबार बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र-०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बाराको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार साह प्रहरीको नियन्त्रणमा छन् ।
सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० ०९:१३