News Griha :: न्यूजगृह
दसैँ मनाउन मौसम बाधक नबन्ने, काठमाडौंमा चिसो बढ्यो

काठमाडौं— यो वर्षको विजया दशमी भोलि (मंगलबार) मनाइँदै छ ।

दशमीमा टीका तथा जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । घरमा टीका लगाएपछि टाढा रहेका आफन्तजनकोमा पनि टीकाजमरा तथा आशीर्वाद थाप्न जाने हिन्दु परम्परा छ । यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले साथ दिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यद्यपि, केही स्थानमा वर्षा र हिमपातको भने सम्भावना छ । एकदुई स्थानमा सामान्य वर्षा भनेको एक मिलिमिटर भन्दा कम वर्षा हुने सम्भावना हो भन्ने बुझ्नु पर्ने मौसमविद् सञ्जीव अधिकारी बताउँछन् । 'भोलि पहाडी भूभागका एकदुई स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । यो भनेको एक मिलिमिटर भन्दा कम हो,' उनीले भने, 'यो भनेको निकै कम वर्षा हो । यसले खासै असर गर्दैन ।' 
यो वर्षको दसैँमा मौसमले बाधा नपुर्‍याउने उनको भनाइ छ ।

'मंगलबारको पूर्वानुमान हेर्दा यो वर्षको दसैँमा मौसमले बाधा पुर्‍याउने देखिँदैन,' मौसमविद् अधिकारी भन्छन्, 'केही भूभागमा हिमपताको पनि सम्भावना रहेको छ । तर त्यो पनि उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा हो । त्यसले खासै असर गर्दैन । त्यसैले यो वर्षको दसैँमा मौसमको अवरोध नरहने पूर्वानुमान छ ।'

यसैबीच, चिसो भने बढ्न थालेको । काठमाडौंलगायत जिल्लामा चिसो बढेको छ । तराईका जिल्लामा समेत बिहान र बेलुका चिसो महसुस हुन थालेको छ ।

शनिबारसम्म ११ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम घटेर १० डिग्री सेल्सियसमा झरेको छ । 'अस्तिसम्म १४ देखि ११ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम हिजोबाट घट्न सुरु भएको छ,' मौसमविद् अधिकारीले भने, “हिजो र आज काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।'

मंगलबार पनि काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसकै सेरोफेरोमा रहने उनले बताए । 'भोलि ९ देखि ११ को बीचमा तापक्रम रहने पूर्वानुमान छ । त्यसैले भोलि पनि १० कै सेरोफेरोमा तापक्रम रहने सम्भावना छ,' मौसमविद् अधिकारीले भने, 'यो चिसो बढ्दै जाने मौसम पनि हो । अब चिसोबाट सतर्क रहनुपर्छ ।'

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १५:१२
Weather Update