
काठमाडौं— काठमाडौंको नागढुंगा क्षेत्रमा शुक्रबार गरिएको विशेष चेकिङमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ६ जना चालकसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा १८ च ७६ ३९ नम्बरको पिकअप चालक धादिङका २४ वर्षीय राजेश नेपाली, लु १ ज ४३ ४० नम्बरको माईक्रो बसका चालक पूर्वी नवलपरासीको त्रिवेणी घर भएका २९ वर्षीय रोशन थापा, बा ९८ प ५१ ६० नम्बरको मोटरसाइकल चालक धादिङका २५ वर्षीय पुजन सुवेदी, बा ८७ प ९५७ नम्बरको मोटरसाइकलका चालक ललितपुरको लेलेका २२ वर्षीय रिकेस सिलवाल, बाग्मती प्रदेश ०२–०३५ प १५ ०१ नम्बरको स्कुटर चालक ललितपुरको हतिसिद्धी बस्ने २० वर्षीय सचिन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखराबाट काठमाडौंसम्म बा ८८ प ४५ ६५ नम्बरको स्कुटर आलोपालो चलाउँदै आएका सिन्धुपाल्चोकका २१ वर्षीय आशिष रावत र काभ्रेपलाञ्चोकका २० वर्षीय जिसन राजवंशीलाई लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै भक्तपुरको सूर्यविनायकका २६ वर्षीय विपिन शिल्पकारलाई पनि प्रहरीले चेक गर्दा लागूपदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका ८ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।













