News Griha :: न्यूजगृह
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ

काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

बास्तोलाले चलाएको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको जीपले बिहीबार राति दाङको राप्ती गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिकाका २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो । जीपको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएकोमा लमहीस्थित अस्पतालमा मृत्यु भएको केसीले जानकारी दिए ।

बास्तोलालाई भालुवाङस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको एसपी केसीले जानकारी दिए । बास्तोलामाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:३१
Weather Update