दसैँ मान्न घर फर्किनेको संख्या बढ्दो : २४ घण्टामा एक लाखले छोडे काठमाडौं

काठमाडौं— दसैँ मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरूमा सवारीसाधनको चाँप बढेको छ ।
दसैँ मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ । ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि शुक्रबार बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन् ।
सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् । बितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् ।
यो संख्या निरन्तर बढ्दो क्रममा छ । एसएसपी भट्टले भने, ‘अस्ति भन्दा बितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० १५:५७