News Griha :: न्यूजगृह
काठमाडौं छाड्नेको चाप बढ्यो, दैनिक तीन सय सवारीसाधन सञ्चालनमा, चाडपर्व लक्षित सुरक्षा योजना के छ?

काठमाडौं— नवरात्रको छैटौँ दिनसम्म आइपुग्दा दसैँमा गाउँघर फर्किने मानिसहरको ठूलो संख्या काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिइरहेका छन् । उपत्यकाका सबै नाकाबाट विभिन्न जिल्ला जाने सवारीसाधन भरिभराउ देखिन्छन् । फूलपातीको अघिल्लो दिनसम्ममा संघीय राजधानी शहर विस्तारै सुनसान हुँदै गएको देखिन्छ । अध्ययन, रोजगारी र अन्य कामले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकाहरू मुख्य पर्व दसैँमा जन्मस्थल फर्किने परम्परा छ ।

काठमाडौं छाड्ने मानिसहरूको चाप बढेकाले दैनिक झण्डै दुई सय ५० देखि तीन सय सवारीसाधन सञ्चालन भइरहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासङ्घ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँ मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेको बताए । यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ । 

‘हामी व्यवस्थापन गर्दैछौँ। यात्रुहरू पठाउँदै छौं। टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँ पाउँदैन। अगाडि नै टिकट बुक गरिसकेका हुन्छन्। सडकको क्लियर कुरा नभएको कारणले 'क्यु'मा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खुला गरिएको छ,’ सिटौलाले भने । 

अहिलेसम्म ७० प्रतिशत भन्दाबढी टिकट सकिएको उनले बताए । तर टिकट अभाव हुन नदिने उनको भनाई छ । उनले भने, ‘करिव ७० प्रतिशत भन्दा अग्रिम टिकट काटिसकेको छ । अन्य गाडीहरू दैनिक रुपमा आउँछन् । सडकबाट गाडी यहाँ नआइपुगुन्जेल 'रिक्स' लिएर टिकट काट्न समस्या छ । गत वर्षमा पनि टिकट पाउँदैन भन्ने गुनासो आउँथ्यो । तर हामी सबै यात्रुहरूलाई मेची महाकाली पुर्‍याएका छौं । बाटो सडकको कारणले पनि गाडी आवतजावतमा समय लाग्ने गरेको छ।’  

सिटौलाले काठमाडौंको थानकोटको सडक बिग्रेका कारण कलंकीबाट नागढुङ्गासम्म पुग्नकै लागि धेरै समय लाग्ने तथा ट्राफिक व्यवस्थापनमा पनि समस्या आउने गरेको बताएका छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले चाडपर्वको समयमा चोरी, डकैती लगायतका आपराधिक घटनाहरू हुने गरेको र पछिल्लो समय त्यस्ता घटना डिजिटल प्रविधिमार्फत जान, अन्जानमा हुने सूचना सार्वजनिक गर्नु मुख्य भूमिका रहेका बताएका छन् ।    

उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो । लापर्बाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ । जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं । यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरू छन्, यस्ता किसिमका चुनौतीहरू हुन्छ ।’

ठूला पर्व दसैँ, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको डीआईजी कडायतले जानकारी दिए । देशैभर हुने विविध आपराधिक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए । 
उक्त सुरक्षा योजना अन्तर्गत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षित बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोबार सुरक्षित पार्ने तथा कालोबजारी र बजारमा देखिने कृत्रिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरू गर्ने डीआईजी कडायतले बताए ।

चाडबाडमा आम नागरिकको सुरक्षाका लागि  ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए । उनले भने, ‘हामीले विशेषगरी दसैँ, दिपावली, नेपाल सम्वत् र छटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याइसकेका छौं । आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने, बैंक तथा वित्तिय संस्थाका कारोबारलाई सुरक्षित गराउने, चोरी तस्करी, दुर्घटना, अभाव र कालोबजारी जस्ता कुराहरूलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौं । त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५ सय ३० जना प्रहरी कर्मचारीहरू फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन ।’ 

उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रूपले सजग रहेको बताए । डीआईजी कडायतका अनुसार प्रहरीले दसैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरूमा हुने दुर्घटना न्यूनिकरण कार्यविविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ ।

डीआईजी कडायतले टाढा जाने सवारी चालकले ट्राफिक नियम पालना नगर्दा विगतमा ठूला दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता  कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरिरहेको बताए । 

उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागि समेत प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत नै नवीनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको डीआईजी कडायतले बताए । 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:१२
Weather Update