लुम्बिनी— दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् ।
उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरे ।
कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको थियाे ।
प्रार्थना र पूजामा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले यस्ता भ्रमणले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए ।
कोषका उपाध्यक्ष त्रिपाठीले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्त्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दूरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको बताए ।
कोरियाली बौद्ध धर्माम्बलम्बीको टोली बुधबार बिहान करहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ । तीर्थयात्रीलाई मंगलबार बिहान नेपाल भारत सीमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो ।