News Griha :: न्यूजगृह
थप युरोपेली मुलुकसँग श्रम सम्झौता गरिने, स्पेन, पोर्चुगल सहितका देशसँग प्रक्रिया अघि बढ्यो 

काठमाडौं— सरकारले स्पेन सहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । 

त्यसका लागि श्रम, रोजगार त था सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेन सहित पोर्चुगल, साइप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए । 

रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि युरोपको ढोका खुलेको बताए । सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रक्रिया अगाडि बढाएको हो । 

‘हामीले अब स्पेन, पोर्चुगल, साइप्रस, माल्टा लगायतका देशहरूसँग पनि समझदारी गरेर अगाडि बढ्न लागिरहेका छौँ । त्यसका लागि दुवै देशको तर्फबाट आवश्यक गृहकार्य अघि बढेको छ,’ मन्त्री भण्डारीले भने । 

पछिल्लो समय नेपालीहरूले खाडी तथा मलेसियासँगै युरोपका विभिन्न देशहरूलाई श्रम गन्तव्य बनाउँदै गएका छन् । जसले गर्दा सरकारलाई ती देशहरूसँग सम्झौता गरेर अघि बढ्ने बाटो खुलेको हो । 

सरकारले जर्मनीसँग ट्रेनी कामदारको रूपमा लैजाने गरी सम्झौता गरेको थियो । त्यस्तै रोमानियासँग समेत श्रम सम्झौता गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:३२
Weather Update