
काठमाडौं— अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।
मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारीलगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् ।
अधिकारीहरूले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।
भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरूले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणासमेत राखेका थिए ।
सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए ।
सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदैछ ।