News Griha :: न्यूजगृह
नागरिकता पाएपछि कुल आचार्यले भने—नेपालको विकासमा यो कोसेढुंगा सावित हुनेछ

काठमाडौं— सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।

उनले नेपालको विकासमा संसारभरका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोसेढुंगा सावित हुने बताए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।

धेरै मिहेनत र लामो संघर्षपछि नागरिकता लिन सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने,‘पाँच वर्षयता बेलायत भन्दा धेरै समय म नेपालमा बसेर काम गरेको  छु । मैले मात्र होइन हाम्रा धेरै अग्रजले समेत गरेको धेरै ठूलो प्रयासपछि आज एउटा सुरुआत भएको छ । यो सुरुवात अत्यन्तै सकारात्मक र नेपालको विकासमा एउटा ठूलो कोसेढुंगा सावित हुने विश्वास छ ।’

लामो समय नेपाली नागरिकताविहीन भएर बस्दा दुःख लाग्ने गरेको र विविध समस्या भोगेको उल्लेख गर्दै उनले नागरिकता पाएपछि जीवन सरल हुने र आफूहरुले सामाजिक, सांस्कृतिलगायत अन्य अधिकारहरु पनि पूर्ण रुपमा प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:५४
Weather Update