
गोरखा— गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो ।
मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो । राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो । मन्दिर जिर्णोद्धारका क्रममा भित्र स्थायी टेका लगाउनुका साथै भुइँमा तेलिया बिछ्याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।
‘भूकम्पले क्षति पुगेको मन्दिरको छानामुनिको कोठा पूरै भत्काएर पुनःनिर्माण गरिएको छ’, उनले भने,‘त्यसबाहेक मन्दिरका झ्यालढोकाहरु मर्मत गरिएको छ ।’ त्यस भूकम्पले क्षति पुर्याएको रंगमहल पनि मर्मत गरिएको प्रमुख भुसालले जानकारी दिए ।
एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रंगमहलको प्रवलीकरण गरिएको हो । पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ छ । मन्दिर जिर्णोद्धारका काम सम्पन्न भएपछि सर्वसाधारणका लागिसमेत मन्दिरमा पूजाआजाका लागि खुला गरिएको छ ।