News Griha :: न्यूजगृह
प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड

काठमाडौं — बडादसैँ सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ ।

पाथिभरामा अरु बेला पनि तीर्थालुहरू पुग्ने गरेका छन् । खासगरी दसैँमा भगवतीको पूजा अर्चना गरिने भएकाले यो बेला धेरै श्रद्धालु पाथिभरा पुग्छन् ।

दसैँको पहिलो दिन करिब १ हजार ३ सयजना श्रद्धालुले पूजा अर्चना गरेका पाथिभरा संरक्षण समितिले जनाएको छ । त्यसयता दैनिक रुपमा तीर्थयात्रीको संख्या बढिरहेको छ । 

तीर्थयात्रीको संख्या यकिन गणना गर्न यसपटक सीसी क्यामरा जडान गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।  

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथिभरामा दसैँका बेला तीर्थयात्रीको भीड हुने भएकाले होटल, यातायात जस्ता क्षेत्र पनि लाभान्वित हुने गरेका छन् ।

पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार पाथिभरा यात्रा मध्य मङ्सिरसम्म जारी रहन्छ ।

दसैँमा दुर्गा भवानीलाई शक्ति माताका रुपमा पूजा अर्चना गरिने भएकाले भक्तजनहरू पाथिभरा पुगेर पूजा गर्न इच्छुक हुने गरेका छन् । पाथिभरा धाममा नेपालका साथै भारत र भुटानका श्रद्धालुहरू समेत आउने गर्छन् ।  

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०८:२५
Weather Update