News Griha :: न्यूजगृह
पर्वतको बिहादीमा चितुवा मृत फेला
फाइल तस्बिर

पर्वत— पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो ।

स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो ।

मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले मर्‍यो भन्ने पुष्टि हुनसकेको छैन ।

चितुवाको शरीरमा कुनै घाउ चोट भने नदेखिएको बरालले बताए । चितुवा केही दिन अघिनै मरिसकेको र बताउँदै सड्न थालेर गन्धसमेत आउन थालेको बताए ।

गत आर्थिक वर्षमा पर्वतमा नौ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो । चालु आवमा गत भदौ १४ गते मोदी गाउँपालिका–७ राम्दादेउरालीमा चितुवा मृत भेटिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:०८
Weather Update