
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन् ।
६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताए ।
गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गरे ।
उनले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताए ।
‘आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्’,गृहमन्त्री श्रेष्ठले भने ।