News Griha :: न्यूजगृह
ढुंगाले लागेर जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु

पाँचथर— पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर मृत्यु भएको हो । 

आइतबार दिउँसो १:४५ बजे ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लागेको थियो ।

उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्याराम्याक्स कन्स्ट्रक्सन प्रा.लि.ले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:३५
Weather Update