News Griha :: न्यूजगृह
सामाजिक विभेदविरुद्ध रास्वपा निर्मम हुन्छ : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सामाजिक विभेदविरुद्ध सतिसालझै उभिने बताएका छन् ।

सोमबार रास्वपाको ‘नीति मन्थन’ उद्घाटनमा उनले विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाजमा मान्छेलाई बस्न लायक नहुने चर्चा गर्दै भविष्यको पुस्ताका लागि विभेदरहीत समाजको पैरवी गर्न रास्वपा प्रतिबद्ध भएर अगाडि बढ्ने बताए ।

विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाज मान्छे बस्ने समाज नभएको उल्लेख गर्दै उनले भने,‘आज कतिपय विकसित देश हाम्रो र आउँदै गरेको पुस्ताको सपनाको देश बनेका छन् । ती देशमा यदी विभेदको एक थोपा पनि चुहाइदिने हो भने ती ठाउँहरु बस्न लायक ठाउँ हुने छैनन् । त्यसकारण विभेदका विरुद्धमा हामी सतिसालझैं खडा भएको प्रतिबद्धता व्यक्त गर्छु ।’

उनले समाजलाई विभेदमा राखेर विकास सम्भव नहुने भन्दै आफ्नो पार्टी विभेदविरुद्ध निर्मम भएर लाग्ने बताएका छन् । ‘समाजलाई विभेदमा राखिरहेर विकास वा सम्वृद्धिको परिकल्पना गर्नु भनेको त्यो  दिवा सपना हो । त्यसकारण हामी यसमा निर्मम छौं र विभेदरहीत समाजको  पैरवी गर्नको लागि कटिबद्ध र प्रतिबद्ध छौ,’ लामिछानेले भने ।

उनले रास्वपाले आफ्नो नीति निर्माणका लागि आम जनतामा पुगेर आम नागरिकको विचार प्रशस्तै सुनेको तथा त्यहाँबाट प्राप्त सुझावको आधारमा नीति मन्थनमा समावेश गरेको धारणा राखे ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:१३
Weather Update