News Griha :: न्यूजगृह
नेपालबाट बाहिरियो मनसुन

काठमाडौं— नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८ गते) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ । यो वर्ष सरदर मितिभन्दा एक ढिलो गरी जुन १४ (जेठ ३१ गते) मा नेपालमा मनसुन भित्रिएको थियो । यो वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाले जनाएको छ । 

मौसमविद्का अनुसार मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार (भोलि) देखि नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:०४
Weather Update