
काठमाडौं— नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले दसैँमा सामाजिक सञ्जालमार्फत दिइने व्यक्तिगत जानकारीले सुरक्षा चुनौती बढेको बताएका छन् ।
आइतबार आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौती बढेको बताएका हुन् ।
चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न घटना हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचनाको सार्वजनिकरणको मुख्य भूमिका रहेको प्रवक्ता कडायतले बताए ।
उनले भने,‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौती हो । लापर्बाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ । जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं । यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटना छन्, यस्ता किसिमका चुनौती हुन्छ ।’
देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनीकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए ।
उक्त सुरक्षा योजनाअन्तर्गत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षित बनाउने, बैंक तथा वित्तीय संस्थाको कारोबार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनीकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए ।
चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए । उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए ।
कडायतका अनुसार प्रहरीले दसैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसमा हुने दुर्घटना न्यूनीकरणका लागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ ।