News Griha :: न्यूजगृह
इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायलाई परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रकाश साउद एनपीले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवम् मिसनसँग आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।

उनले भने,‘विपिनसहितका नेपाली विद्याथी बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटक–पटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ । प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुई वटा ग्रिनेट फाल्दा एउटा नपड्किदै विपिनजीले बाहिर फ्याँकेको देखिन्छ ।’

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेर लगेको उनले बताए  । उनले भने,‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:३०
Weather Update