News Griha :: न्यूजगृह
शुभसाइतमा राखियो दसैँ घरमा जमरा 

काठमाडौं— काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ ।  आइतबारदेखि विधिवत सुरु भएको नवरात्रको पहिलो दिन दसैँ घरमा ११:२९ बजेको शुभसाइतमा जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँ घरमा दसैँको पहिलो दिन अर्थात् घटस्थापनमा जमरा राख्ने परम्परा छ ।

आइतबार बिहान नित्यकर्म गरी नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँ घरमा जमरा राखिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आहृवान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

जमरामा मकै र जाैकाे मिश्रण राखिन्छ । मकै या जौ अलगै पनि राख्ने चलन छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:२१
Weather Update