
पाल्पा— पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका स्थानीय केन्द्रीय प्रसारणलाइन पुगेपछि खुसी भएका छन् ।
जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारणलाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ ।
ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारणलाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडा अध्यक्ष मुक्तबहादुर पाटाले बताए ।
गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ ।
निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले गाउँमा विद्युत् सेवा पुर्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु जानकारी दिए ।
पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारणलाइनको सेवा विस्तार गर्ने उनले बताए । निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ ।
विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ ।