News Griha :: न्यूजगृह
'प्रहरीले नै अपराधीको संरक्षण गर्‍यो, गुण्डा लगाएर कुटपिट गर्‍यो'

काठमाडौं— प्रहरी प्रशासनले आफूहरूलाई न्याय दिने ठाउँमा अपराधीको संरक्षण गरेको मृतक आरती साहका परिवारले आरोप लगाएको छ । 

माइतीघरमा धर्ना बसिरहेका आरती साहका बुवा, आमा र भाइ समेतलाई प्रहरीले कुटपिट गर्दै शनिबार सिंहदरबार प्रहरी वृत्तमा लगेको भन्दै उनका मामा सन्तोषकुमार साहले आफूहरूलाई न्याय दिनुपर्ने प्रहरीले नै असहयोग गरेको आरोप लगाए । 

माइतीघरमा पत्रकार सम्मेलन गरी उनले आफूहरूलाई गत बुधबार ५ जना गुण्डाहरूले हमला गरेको भन्दै उक्त हमलामा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए ।

आरतीको हत्यालाई र हामीमाथि भएको दमन र यातनालाई लुकाउँन प्रहरीले आरतीको परिवारलाई लगेको दाबी समेत गरे । ‘बिहान आरतीका बुवा, आमा र भाइ समेतलाई प्रहरीले कुटपिट गर्दै प्रहरीवृत्तमा आरतीको हत्यालाई र हामी माथि भएको दमन र यातनालाई छुपाउन यो काम उनीहरूले गरिरहेको छ,’ उनले भने, ‘हामीलाई अस्ति बुधबार पनि गुण्डाहरूलाई पठाएर हमला गरिएको थियो । त्यसमध्ये एकजनाको मोबाइल झरेको थियो त्यो प्रहरीलाई बुझाइए पनि अनुसन्धान भएको छैन । त्यो गुण्डागर्दीमा पनि पुलिस प्रशासनको संलग्नता देखिन्छ । त्यो समयमा यहाँ सुरक्षामा बस्ने सुरक्षाकर्मीलाई अन्नपूर्ण अस्पतालमा केही काण्ड भयो भनेर पठाएर हामी माथि हमला गरियो ।’     

त्यस्तै वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडित पक्षलाई सघाउनु पर्ने ठाउँमा झुक्याउने काम भएको टिप्पणी गरे । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामा सबै समाधान गर्छु भन्ने बाचा दिएर गएर पनि केही नगरेको भन्दै पीडितलाई झुक्याउने काम गरेको उप्रेतीले बताए । 

Sanjiv-Uprety-1697289816.jpg

उनले देशमा न्याय अझै छ भनेर बसिरहेको भन्दै न्याय दिन ढिलाई गरेमा नागरिक आन्दोलन कठोर रुपमा सडकमा आउन बाध्य हुने चेतावनी समेत दिए ।  उनले भने,‘ देशमा न्याय अझै छ भनेर बसिरहेका छौं । यस्तो अवस्था भयो भने नागरिक आन्दोलन कठोर रुपमा सडकमा आउन बाध्य हुने छौं । ’

१२१ दिनदेखि मृतक आरती साहको परिवार न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसिरहेका थिए ।  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:०९
Weather Update