News Griha :: न्यूजगृह
माइतीघरमा १२१ दिनदेखि धर्नामा बसेको परिवार नै प्रहरी नियन्त्रणमा

काठमाडौं— माइतीघरमा १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

एसएसपी खत्रीका अनुसार शनिबार बिहान प्रहरीको टोली धर्नामा रहेका पीडित परिवारले राखेका फ्लेक्स हटाउन पुगेको थियो ।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रकाश गौतममाथि कारबाही गर्नुपर्ने माग गर्दै तस्बिर राखेर प्रदर्शनमा थिए ।

एसपी खड्का र डीएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए । 

‘उहाँहरूले गृह मन्त्रालयमा हामीलाई मानसिक रूपमा तनाव भयो, हाम्रो पनि समाजमा प्रतिष्ठा छ, कसैलाई व्यक्तिगत रूपमा अन्याय परेको भन्दैमा अरूमाथि पनि अन्याय गर्न हुन्न भनेर निवेदन दिनुभएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत हामीलाई आदेश भएपछि त्यो फ्लेक्स हटाउन प्रहरी पुगेको थियो,’ एसएसपी खत्रीले भने ।

धनुषाको नगराइन नगरपालिका-८ की आरती विनोदप्रसाद र निर्मलादेवीकी जेठी छोरी थिइन् । उनीहरूले दुई छोरी र एक छोरालाई जन्म दिएका थिए । आरतीको दुई वर्षअघि विवाह भएको थियो । गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसाद लाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए । आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो । तर अस्पताल पुर्‍याउँदा आरतीलाई मृत घोषणा गरिएको थियो । 

शरीरमा निलडाम र खुट्टाहरू सुन्निएको भन्दै मृतकका परिवारले हत्या भएको आशंका गरेका थिए । प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए ।

जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरुद्ध आरतीका बुबाले उजुरी दिन खोजेका थिए । तर प्रहरीले उजुरी लिन नमानेपछि ससुरा र श्रीमानविरुद्ध मात्रै उजुरी दिइएको थियो । पीडित परिवारले उनीहरूविरुद्ध आत्महत्या दुरूत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएका थिए । 

जिल्ला अदालत धनुषाले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए । 

उच्च अदालत जनकपुरले भने उनीहरूलाई असोज १८ गते साधारण तारेखमा छाडेको थियो । 

मुख्यन्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:४४
Weather Update