News Griha :: न्यूजगृह
चिसो बढ्न थालेको हो? 

काठमाडौै— नेपालका धेरैजसो स्थानबाट मनसुन बाहिरिएसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ । बरु काठमाडौै उपत्यकालगायत स्थानमा बिहान, बेलुका चिसो महसुस हुन थालेको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार बिस्तारै चिसो बढ्ने क्रम सुरु भएको छ । ‘कतैकतै तापक्रम केही घटेको तथा चिसो महसुस हुन थालेको देखिन्छ’, उनले भनिन्, ‘तर पनि अहिल्यै उल्लेख्य मात्रामा तापक्रम घटेको छैन, घट्ने र बढ्ने क्रम चलिरहेको छ ।’

मौसमविद् नगरकोटीका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन लुम्बिनी प्रदेशको अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिम भागबाट पनि हटिसकेको छ । अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ ।

‘अब थप स्थानबाट पनि मनसुन बाहिरिने क्रममा छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘यस विषयमा हामी चाँडै बुलेटिन जारी गर्दै छौँ ।’ गत जुन १४ तारिख (जेठ ३१ गते) पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ । 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ । यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ । मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ । तर धेरै हुँदैन । पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ । डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् नगरकोटी बताउँछिन् । 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:५४
Weather Update