News Griha :: न्यूजगृह
ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी
प्रतीकात्मक तस्बिर ।

बैतडी— नाबालिका बलात्कारको आरोपमा बैतडीबाट एक ट्रक चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । बिहीबार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा पीडित नाबालिका अत्तरियाबाट बसेकी थिइन् ।

मिनी ट्रकमा नै आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले चालक ओझालाई मिनी ट्रकसहित शुक्रबार पाटन नगरपालिका-६ को हिरापुरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई पाटनमा रहेको सुरक्षित आवासगृहमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०६:०७
Weather Update