
कास्की— पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । ७ जना धरौटीमा रिहा भएका छन् ।
सो समूहले असोज ८ गते अस्पतालमासमेत तोडफोड गरेको थियो । घटना भएकै दिन प्रहरीले विनय गुरुङ र असोज १२ गते सुशील कार्कीलाई पक्राउ गरेको थियो । दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । त्यस्तै, पक्राउ परेका बाँकी ७ जना भने १, १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश ध्रुवकुमार पियाको इजलासले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।
गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि तनाव भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै डा. अनिल शाहमाथि आक्रमण गरेका थिए ।
शाहमाथि आक्रमण भएपछि चिकित्सकहरू पनि आक्रोशित बनेका थिए भने मृतकको आफन्तको तर्फबाट पनि ठूलो सङ्ख्यामा युवाहरू जम्मा भएर विरोध तथा तोडफोड मै उत्रिएका थिए । प्रहरीले आफन्तका नाममा पोखरामा गुण्डागर्दीमा सक्रिय तथा यसअघि पनि पटक पटक हिरासत तथा जेल सजायसमेत भुक्तान भएका युवा परिचालन भएको निष्कर्ष निकालेको थियो ।
मणिपालमा भएको तनाव क्रममा कमान्ड सम्हालेका तत्कालीन बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशी हेडक्वार्टर तानिएका थिए भने आक्रोशित भीडलाई झनै उत्तेजित बनाउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बन मै छन् ।
मणिपालको घटनालाई लिएर देशभर चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चौतर्फी दबाब सिर्जना भएपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दै पक्राउ गर्न थालेको थियो । अस्पतालको तनाव कायमै रहेका बेला चिकित्सकले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए भने आफ्नातर्फबाट महेन्द्रपुलमा चक्काजाम नै गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
तोडफोडमा संलग्न रहेको र भीडलाई उत्तेजित तथा आक्रामक बनाउन नेतृत्व लिएको भन्दै तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका भट्टराईसहित १० जना अझै फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता चलाएको हो । आफन्त, प्रशासन र अस्पतालबीच पटक पटकको वार्तापछि मृत्यु भएको ८ दिनपछि असोज १६ गते सुकमायाको शव उठेको थियो ।