News Griha :: न्यूजगृह
भजनमा बढ्दै महिला सक्रियता : हलुङ्गिदै मन

पाल्पा— अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । 

वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।

महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णु कान्त भण्डारी बताउँछिन् । यहाँ दैनिक जसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उनले बताए । 'भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ । घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु । वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ', उनले भने । 

भजन पुरुषले नै गाउनुपर्छ भन्ने छैन । महिलाले पनि अखण्ड भजन गाउन सक्ने उहाँको अनुभव छ । महिलाले सीप सिक्न नखोज्नु र यसमा रुचि कमैले राख्ने गरेकाले पुरुषको मात्रै संलग्नता समाजमा धेरै देखिएको भण्डारीको भनाइ छ । उमेरले ५३ पुगेकी भण्डारी जवानी उमेरमा नै पाका पुस्तासँग भजन गाउन सिकेर अहिले आफ्नै नेतृत्वमा सामूहिक भजनमा सहभागी हुने गरेको बताउँछिन् ।

परम्परा र संस्कृति संरक्षण मात्र नभई भजनले मनका सारा पीडा दुःख भुलाउँछ । दैनिक दुई घण्टाको समय उनले भजनमा बिताउँदै आएकी छन् । 

केलादीधाममा भजन गाउने र मनलाई आनन्दित पार्न यहाँका स्थानीयको सक्रिय सहभागिता छ । घर नजिकै मन्दिर भएकाले भजन सिक्न सजिलो भएको छ । घर परिवारका पीडा सबै भजनमा सहभागी भएपछि भुल्दै गएको देवीमाया पौडेल बताउँछन् । उनी हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म भजनमा सहभागी हुँदै आएकी छन् । 

केलादी मन्दिरमा उनी सो समय गाउँका छिमेकी साथीको साथमा आफैँले बजाएको मादलको तालमा भजन गाउँदा अल्छीपन हट्नुका साथै पीडाले भरिएको मन हलुको हुँदै गएको अनुभव सुनाउँछिन् । अरूले गाएको भजनबाट सीप सिकेर अहिले आफैँले भजन गाउन सक्ने दक्षता हासिल गरेर दैनिक भजनमा संलग्न रहँदै आएको पौडेलले बताए । 

यहाँ महिलाहरूले आफै मादल, झ्याली, मुजुरा बजाउँदै भजनमा सक्रिय हुने गरेको पाइएको छ । समूह समूहमा पालैपालो घरको कामधन्दा सकाएर तीस वर्ष माथिका महिलाहरू भजनमा सहभागी हुने गरेका छन् । यस कार्यले धर्म, संस्कृति र परम्पराको संरक्षण मात्र नभई मनलाई आध्यात्मिक क्षेत्रमा रमाउने माध्यम बनेको छ । 

केलादीधाममा हाल दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजन भइरहेको नेपाल निम्वार्क पीठ राधा दामोदर मन्दिर केलादीधामका सचिव लेखनाथ खनाल बताउँछन् । उनका अनुसार एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ ।

दिनमा छ समूहमा आफ्नो पालोअनुसार भजनमा सहभागी हुने गर्दछन् । 'नयाँ पुस्ताले पुरानो संस्कृति बिर्सँदै गएको र आधुनिकताको नाममा पुराना चलन अवलम्बन नहुँदा नयाँ पुस्ता भजनमा रुचि देखाउँदैनन्', उनले भने, 'उनीहरूलाई पनि भजनबारे जानकारी दिन र परम्परा धान्न नियमित रूपमा भजन चलाइरहेका छौँ ।' २४ सै घण्टा अखण्ड भजन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजन मन्दिरमा चलाइरहेको खनालले बताए । 

यहाँ विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको अखण्ड भजन बन्द छ । काली गण्डकी नदीको तटमा रहेको यस केलादीधामले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलाई जोडेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:११
Weather Update