News Griha :: न्यूजगृह
दश नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास

काठमाडौं— इजरायलस्थित नेपाली दूतावासले हमासकाे आक्रमणमा मृत्यु भएका दश जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले मृत्यु भएका दश नेपाली विद्यार्थीको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रक्रियाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जनाएको छ ।

त्यस्तै दूतावासले हमासको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ  । अन्य २ जनाको भने उपचार भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दूतावासले जनाएको छ ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीसँग पुनः अनुरोध गरिएको जनाइएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।

दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय  र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:२७
Weather Update