News Griha :: न्यूजगृह
अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

काठमाडौं— राष्ट्रिय सभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत भएको छ ।

सांसद पन्थले संकल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराएका थिए । उनले कानुनमा अपांगता भएका व्यक्तिप्रति विभेद हुने व्यवस्थाको अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले उक्त व्यवस्था यथाशीघ्र खारेज, संशोधन वा नयाँ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिन आग्रह गरे ।

सांसद पन्थले अपांगता भएका व्यक्तिको लागि अवरोधमुक्त तथा मर्यादित जीवनयापनका लागि संविधान तथा कानुनप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपांगता अधिकारसम्बन्धी महासन्धिले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यका सबै निकायको दायित्व भएको बताए ।

प्रस्तावमा अपांगता भएका व्यक्तिको सशक्तीकरण, विकास र अधिकारको कार्यान्वयनको अनुगमन, अध्ययन तथा अनुसन्धान, योजना तथा नीतिनिर्माणमा सहयोग, अपांगताका सवालमा काम गर्न सबै किसिमका अपांगता समूहको प्रतिनिधित्व हुनेगरी अधिकार सम्पन्न अपांगता अधिकार प्रवर्द्धन प्रतिष्ठान वा आयोग स्थापना गर्न माग गरिएको छ ।

प्रस्तुत प्रस्तावका समर्थक शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, खिमलाल देवकोटा, गंगाकुमारी वेल्वासे, रमेशजंग रायमाझी, बामदेव गौतम, विमल घिमिरे, दिलकुमारी रावल थापा (पार्वती), विना पोखरेल, देवेन्द्र दाहाल, महेशकुमार महरा, समित्रा विसी, तुलसाकुमारी दाहाल, डा.विमला राई पौडेलले प्रस्तावका विविध पक्षबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:५१
Weather Update