
काठमाडौं— राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले अस्पताल, अदालत, प्रमुख सरकारी भवन, विद्यालय, प्रहरी चौकीलगायतका महत्वपूर्ण सरकारी संरचना जतिसक्दो चाँडो अपांगमैत्री बनाउन सरकारसँग माग गरेकी छिन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा ‘अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव’ लाई समर्थन गर्दै पौड्यालले अपांगता भएका व्यक्तिले दैनदिन सरकारी तथा अन्य सेवा लिन भौतिक संरचनाको कारण पनि दुःख पाएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताइन् ।
अपांगता भएका व्यक्तिका लागि संविधानमा मौलिक हकको व्यवस्था नै गरेपनि अपांगता भएकै कारण उनीहरुले अझै आफ्ना हकको प्रयोग गर्न नसकेको भन्दै उनले जतिसक्दो चाँडो अस्पताल, प्रहरी चौकी, अदालत तथा धेरै सेवा लिन जानुपर्ने सरकारी भवन अपांगतामैत्री बनाउनुपर्ने बताइन् ।
उनले भनिन्,‘हाम्रो संविधानले मौलिक हक भनेर सबैका लागि बनाएको हो । तर, शिक्षा, स्वास्थ्य, न्याय र रोजगारी जस्ता ३२ वटा ती मौलिक हकहरुमा धेरै हक अपांगता भएका व्यक्तिहरुले अपांगता भएकै कारणले प्रयोग गर्न सकिराखेका छैनन् । त्यसैले सबैभन्दा पहिला सबै संरचनाहरु अपांगमैत्री बनाउन जरुरी छ ।’