News Griha :: न्यूजगृह
नेपाल फर्किन इजरायलको तेलअभिभ एअरपोर्टमा भेला भए नेपाली

काठमाडौं— इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एअरपोर्टमा भेला भएका छन् । हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एअरलाइन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन् ।

नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एअरपोर्टमा जम्मा भएको जानकारी दिएका छन् ।इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन् ।

पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ । नेपाल एअरलाइन्सको जहाज केहीबेरमा त्यहाँ पुग्दैछ ।

विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण हुने र त्यहाँ दुई घण्टा बस्ने परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए ।

त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ । त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौंमा राति ९ बजे अवतरण गर्ने बताइएको छ ।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:३६
Weather Update