News Griha :: न्यूजगृह
झन्डै डेढ लाख नक्कली नोटसहित दुई पक्राउ

नवलपरासी— १ लाख ३९ हजार नक्कली नोटसहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ फलफूल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैँची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:५४
Weather Update