News Griha :: न्यूजगृह
हत्या आरोपित १९ वर्षपछि पक्राउ

चितवन— कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए ।

उनलाई प्रहरीले सोमबार नवलपरासीको बर्दघाट सुस्ता पश्चिमबाट पक्राउ गरेको हो । पण्डितका अनुसार चापागाईंले वि‍‍.सं. २०६१ मंसिर १४ गते भरतपुर महानगरपालिका–७ की मनकुमारी वाग्लेको घरमा गई सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले टाउकामा प्रहार गरी हत्या गरेका थिए ।

‘वाग्लेको हत्या गरी कानमा लगाएको गरगहना लुटेर उनी फरार भएका थिए । उनलाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनाका आधारमा बर्दघाट–४ स्थित शिव मन्दिरमा भेष बदलेर साधुका रुपमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो’,उनले भने । चापागाईं पक्राउ परेसँगै थप अनुसन्धान सुरु गरिएको पण्डितले बताए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:०२
Weather Update